दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १८ भदौ । वीरगञ्ज स्थित भरपेट भोजनालयले आफ्नो स्थापनाको पहिलो बार्षिकोत्सव सम्पन्न गरेको छ । ५० रुपैँयामा भरपेट भोजन उपलब्ध गराउने उदेद्श्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा भोजनालयले शनिबार वार्षिकोत्सव समारोह तथा ईट फर च्यारिटी कार्यक्रम सम्पन्न गर्यो । भोजनालयमा नियमित भोजन गरिरहेका रिक्शा चालक अक्षयलाल महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई संविधानसभा सदस्य अनिल रुंगटा, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय, सामाजिक अभियान्ता ओमप्रकाश सर्राफ, भरपेट भोजनालयका नियमित ग्राहक श्रवण व्याहुत कलवार लगायतकाले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य अनिल रुंगटाले भरपेटजस्ता जनमुखी कार्यहरुको प्रोत्साहन आजको प्रमुख आवश्यक्ता भएको बताउनुभयो । यो भोजनालयबाट समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्नुहुँदै वहाँले यस्तो पुनित कार्यमा सबैको साझा सहयोगका लागि अपिल समेत गर्नुभएको थियो । “सबैको साथ/सहयोगबाट यस्तो जनमुखी कार्यमा तल्लीन भोजनालयको सेवालाई थप निरन्तरता र विस्तार गरिनुपर्छ,” वहाँले भन्नुभयो । सरकार र सामाजिक संघ/संस्था दुवै जनताको भलो गर्नका लागि सञ्चालित भएको धारणा राख्नुहुँदै वहाँले विगतका सरकारको कामबाट धेरै खुशी हुनुपर्ने ठाउँ नदेखिएको बताउनुभयो । यस अघिको सरकारले जनतालाई परिवर्तनको अनुभूती गराउनै नसकेका कारण हाल युवाहरुमा चरम निराशा देखिएको जिकिर गर्नुभयो । स्व.प्रदीप गिरीको उद्धाहरण दिनुहुँदै वहाँले सत्ताको राजनीति त्यागे मात्र समुदायमा परिवर्तनको महशुस गर्न सकिने बताउनुभयो ।

भरपेट भोजनालयबाट प्रवाह भईरहेको सेवा/सुविधा प्रति सन्तुष्टि जनाउनुहुँदै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले भोजनालय सञ्चालनार्थ महानगर र आफ्नो व्यक्तिगता तर्फबाट हुनसक्ने हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दैनिक ज्यालादारी गर्ने वर्गलाई भोजनालयले प्रत्यक्ष लाभ पुर्याएको चर्चा गर्नुहुँदै वहाँले यसको व्यवस्थापना सम्हालिरहेको सानो पाइला समूहप्रति विशेष आभार प्रकट गर्नुभयो । यस भोजनालयको सेवा अन्य ठाउँमा बिस्तार गर्दै लाभान्वितहरुको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

यता, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले निजी क्षेत्रसँग हातेमालो गरेर यसको विस्तार र निरन्तरताका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । वर्षको २० लाख घाटा भएर पनि सञ्चालन भईरहेको भोजनालयबाट लाभान्वित हुनेहरुको संख्या धेरै भएको उल्लेख गर्नुहुँदै वहाँले यसको प्रोत्साहनमा सहयोगका लागि आह्वान गर्नुभयो । वहाँले भोजनालयको दिर्घकालिन सञ्चालनका लागि वीउवा संघ पनि सकारात्मक रहेको जिकिर गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नेता प्रकाश उपाध्यायले भने समाजवादको यात्रामा भरपेट भोजनालय कोशेढुङ्गा भएको बताउनुभयो । भोजनालय सञ्चालन गरी निम्न वर्गको समस्याको सम्बोधन गरेको संस्थाप्रति वहाँले आभार व्यक्त गर्नुभएको छ ।

यसैगरि सामाजिक अभियन्ता तथा लोसपा वीरगञ्ज महानगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफले भोजनालय सफलताको शुभकामना व्यक्त गर्नुभयो । भुँईमान्छेहरुको संस्थाको रुपमा स्थापना भएको भरपेट भोजनालयले भुँईमान्छेहरुको भोजनको समस्यालाई धेरै हदसम्म सम्बोधन गरेको जिकिर गर्नुभयो । वहाँले समुदायका लागि संघ/संस्थाहरुको पहलमा सञ्चालन भईरहेका भोजनालयजस्ता अभियान स्थानिय सरकारबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । “भुईँमान्छेहरुको समस्या सम्बोधन गर्नका लागि गठन भएका तीन तहको सरकारको दायित्व हो यस्तो भोजनालयहरु सञ्चालन गर्नु, तर, त्यस्तो हुनै सकेको छैन, भुँईमान्छेहरुका लागि सरकारले के गर्यो कुन्नि?”, भन्दै वहाँले आक्रोश प्रकट गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवम् सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले सुखी समुदाय निर्माणमा सक्रिय सानो पाइलाले वीरगञ्जमा सञ्चालन गरिरहेको भरपेट भोजनालय नमूना परियोजनाका रूपमा स्थापित भएकोमा संस्थालाई बधाई दिँदै प्रगतीको कामना गर्नुभयो । भोजनालयका परिकल्पनाकार समेत रहेका नेता झाले भरपेट भोजनालयको सेवा निरन्तरता र विस्तारका लागि योगदान गरिरहनुभएका सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

जीराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले आफ्नो सेवा सुविधा वापतको रकमबाट भोजनालयलाई वार्षिक ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्र, वीरगञ्ज महानगरपालिकाकी कार्यपालिका सदस्य, कनिका कौशिक, जीराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकोटा, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रविन्द्र भट्ट, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, प्रकाश थारु, मानवसेवा आश्रम मधेश प्रदेशका संयोजक देवेश मानवसेवा लगायतकाको उपस्थिती रहेको थियो । भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको छं । यो १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैँया रह्यो भने कुल ५९ लाख ६ हजार ९ सय ६२ रुपैँया खर्च भयो । जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैँयाको घाटामा भोजनालय सञ्चालन भयो । ५० रुपैँयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैँया पर्ने गरेको छ ।