नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिनुभयो । सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ । स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पु¥याउने गर्छन । कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट टे«ेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र टे«डिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताउनुभयो । उहाँले बगर खेतीका लागि मल उपलब्ध नहुने जानकारी दिँदै अन्य खेतीका लागि भारतीय बजारबाट पनि मल आउन सक्ने आशङ्का गर्नुभयो । श्रेष्ठ भन्नुभयो, “हामीले प्रदेश सरकारले दिने कोटाअनुसार नै मलको वितरण भएको छ ।” अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गर्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेडमा हाल छ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ । चालु आर्थिक वर्षमा युरियाको वार्षिक बिक्री लक्ष्य छ हजार मेट्रिक टन, डिएपीको वार्षिक लक्ष्य दुई हजार पाँच सय मेट्रिक टन र पोटासको लक्ष्य तीन सय मेट्रिक टन मल रहेको छ । चालु आवदेखि कम्पनीले कृषि चुनको बिक्रीसमेत थालेको छ । माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उद्देश्यले कृषि चुन बिक्रीका लागि राखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक श्रेष्ठ जिल्लामा चालु आवमा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको बताउनुहुन्छ ।