नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १४ चैत : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुने बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि अल्झिएको भूमिहीन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुई वर्षभित्र समाधान गर्ने छ ।” आज पश्चिम नवलपरासीमा डुबान तथा सीमा क्षेत्रको अवलोकनमा आउनुभएका भूमि व्यवस्था मन्त्री अधिकारीले चैत महिनाभित्र आयोग बनाएर वैशाखभित्र कामको थालनी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको नाममा जग्गा प्राप्ति गर्ने, जग्गा प्राप्त गरेपछि बिक्री गर्ने विकृतिलाई अन्त्य गर्नु जरुरी छ ।” जग्गा प्राप्तिपछि लामो समयसम्म बेच्न नपाइने सरकारले नीति, नियम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।