काभ्रेपलाञ्चोक, ५ जेठ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर्नुभएको छ । उहाँले खेलमैदान निर्माणका लागि धुलिखेल नगरपालिकाद्वारा प्रदान गरिएको जमिनलाई व्यवस्थित बनाउन गुरुयोजनासहितको बजेटका लागि निरीक्षण गर्नुभएको जनाइएको छ । मन्त्री श्रेष्ठले धुलिखेल नगरको वडा नं ११ र १२ को सिमानामा निर्माणाधिन खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल हरेक हिसाबले सम्भावना नै सम्भावना भएको देश हो, हामीले पूर्वाधारमा भन्दापनि ब्यवस्थापनमा ध्यान दिनुपर्छ ।” मन्त्री श्रेष्ठले नेपालमा हरेक खेलका लागि पर्याप्त भौगोलिक संरचना भएकाले पूर्वाधारमा लगानी गर्नु नपर्ने तर खेलअनुसारका जमिन व्यवस्थापनमा अनुगमन, निरीक्षणमा जोड दिनुपर्ने बताउनुभयो । खेलमैदानको अवलोकनका लागि नेपाली हक्की सङ्का केन्द्रीय पदाधिकारी, जिल्लास्थित पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त खेल मैदानलाई बाग्मती प्रदेश सरकारले चालु आवमा आवश्यक गुरुयोजना बनाउने गरी सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माका अनुसार बागमती प्रदेशस्थित खेलकुद विकास परिषद्द्वारा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को तयारी अन्तिम चरणमा पुगेको छ । तीन वर्षमा तीन चरणमा निर्माण हुने भनिएको रङ्गशालाको पहिलो चरणमा मैदान, दोस्रोमा प्याराफिट र त्यसपछि होस्टेल निर्माण हुनेछ । करिब रु ८० करोडमा रङ्गशाला तयार हुने प्रारम्भिक अनुमान गरिएको शर्माले बताउनुभयो । मन्त्री श्रेष्ठले आजै धुलिखेलको हजारसिँढी, भैरव मुर्तिस्थललगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभयो । श्रेष्ठलाई सो क्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, सम्मेलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाका कारण पर्यटकीय क्षेत्रका साथै खेलकुदको हव बनाउन सकिने बताउनुभयो । यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने ब्याञ्जुको माग रहेको थियो ।
मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण
सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-
