दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ असोज । बीरगंज महानगरपालिका वडा नं. २५, ड्राई पोर्ट सिर्सिया को सम्पूर्ण जग्गालाई नेपाल सरकारले अधिग्रहण गरेको लामो समय बिति सक्दा पनि त्यहाँको स्थानियहरुले हाल सम्म पनि मुआब्जा नपाएको भन्दै बिगत चार दिन देखि आफ्नो तीन बुँदे माँग राखी सुख्खा बन्दरगाह भन्सार कार्यालयको मूल गेटमा धर्नामा रहेका मुआब्जा संघर्ष समितिले बिहीबार को दिन संघर्ष समितिका पदाधिकारी तथा सुक्खा बन्दरगाह भन्सार कार्यालयका विच देहाय बमोजिम सहमति भई धर्ना कार्यक्रम हाललाई हिन्दूहरूको महान पर्व छठ पर्व सम्मका लागि स्थगन गर्न सहमति गरेका छन् ।

सहमतिका बुँदाहरु क्रमशः पहिलो मुआब्जा रकम निकासा सम्बन्धमा – सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा जग्गा पास भई मुआब्जा वितरण गर्न बाँकि रहेका विशेष अवस्थाको अनुमानित रकम रु.३८ करोड तत्काल निकासा एवम् भुक्तानीको लागि तत्काल पहल गर्ने । मुआब्जा दिन बाँकि अन्य रकम नेपाल सरकारको कार्यविधि अनुसार दोश्रो त्रैमासिकको सुरुमा नै एकमुष्ट रुपमा माग गरि भुक्तानी गर्न पहल गर्ने ।

दोश्रो स्ववासी जग्गाको सम्बन्धमा – सुक्खा बन्दरगाह भन्सार कार्यालयको लागि अधिग्रहण गरिएको ६२ विगाहा जग्गा मध्ये फिल्डबुकमा व्यक्ति र संस्थाको नाममा दर्ता कायम रहेको जग्गा धनी यकिन गरी आवश्यक कार्यविधि अपनाई कार्यालयको नाममा रजिस्ट्रेसन पास गरी मुआब्जाको रकम यकिन गरी सम्वन्धित जग्गा धनीलाई सहज रुपमा भुक्तानी दिने सम्बन्धमा बैकल्पिक उपायहरु सहित सम्बन्धित निकायमा लेखि पठाउन कार्यालयले १ हप्ता भित्र पहल गर्ने ।

तेस्रो मुआब्जा वापतको रकम भुक्तानी गर्दा अग्रिम आयकर वापत लाग्ने ५ प्रतिशतको दरलाई पुर्ववत २.५ प्रतिशतको दरले लगाउने गरी पुर्नविचारका लागि सम्बन्धित निकायमा कार्यालयले लेखि पठाउने ।

मुआब्जा संघर्ष समितिका पदाधिकारीहरु क्रमशः अध्यक्ष अशोक कुमार चौधरी, उपाध्यक्ष संजय प्रसाद पटेल, सचिव विजय कुमार तिवारी, सह-सचिव शिवजी प्रसाद पटेल, सदस्य तेतरी देवी र सदस्य मनोज चौधरी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत डा. राम प्रसाद मैनाली बीच सहमति भई धर्ना कार्यक्रम हाललाई स्थगित गरिएको कुरा समितिका अध्यक्ष अशोक कुमार चौधरी ले बताएका छन् ।