मुना न्यौपाने
काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेखीकरण शुभारम्भ र राष्ट्रिय शहीद स्मारकको समुद्घाटन गर्नुभयो । शहीद दिवसको अवसरमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिद्वारा राष्ट्रिय शहीद दिवस–२०७९ को अवसरमा आयोजित शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेखीकरण शुभारम्भ र राष्ट्रिय शहीद स्मारकको उद्घाटन गर्नुभएको हो ।
समुद्घाटन समारोह समितिका अध्यक्ष सुदर्शन सिग्देलको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री विशाल खड्का, काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद् सन्तोष चालिसे, शान्ति श्रेष्ठ, पूर्व प्रतिनिधिसभा सदस्य कृष्ण राई, वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाल, वागमति प्रदेशसभा सदस्य विमल ठकुरी, छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायणबहादुर सुवेदी , वडा ४ का अध्यक्ष जयराम महत , वडा ८ अध्यक्ष नन्दलाल श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा आजै प्रधानमन्त्रीले राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति स्मारक उद्यान निर्माण व्यवस्थापन कार्ययोजनाको पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमको सञ्चालन राजकुमार के.सी.ले गर्नुभएको थियो ।