दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ कार्तिक । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली तथा अस्थायी प्रहरी पोस्ट, सुपौली बाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले शनिबार राति करिब ११:३० बजेको समयमा प्रतिबन्धित लागु औषध गाँजा १० किलो तथा मोटरसाइकल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिषेश सुचनाको आधारमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ०५, निचुटा नौगछिया स्थितमा त्यहाँ बाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले BR 22 AE 6740 भारतीय नम्बरको स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०५, सुहपुर बस्ने बर्ष ४५ को हिरामन यादवले मोटरसाइकल पछाडी बोरामा राखिएको अबैध लागु औषध गाँजा १० के.जी. फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको छ ।

यसैगरी शनिबार दिउँसो करिब ०२:०० बजेको समयमा अस्थाई प्रहरी पोष्ट, ईनर्वागाँउ बाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वागाउँ चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ०६ बस्ने वर्ष १९ को सुजन तिवारीको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र सोही ठाउँ को वडा नं. ०३ बस्ने वर्ष १९ को शक्ति परियारको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २ सय ७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको हुँदा निजहरूलाई उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।