दीपेन्द्र प्रजापति/कालो झोला ।

भारत, (वैशाली), २३ पुष । वैशाली स्वर्ण जयन्ती समापन समारोह आयोजना गरी नेपाल, भारत र बंगलादेशका पत्रकारहरुलाई सम्मान गरिएको छ ।

वैशाली जिल्ला प्रतिष्ठानले सार्क पत्रकार मञ्च, बिहार, इन्डिया च्याप्टरको संयुक्त आयोजनामा ह्युमन राइट टुडे र आम्रपाली कला साहित्य सम्मेलन वैशालीको संयुक्त आयोजनामा विश्वशान्ति स्तुपा नजिकै रहेको बुद्ध फन एण्ड फुड भिलेज अडिटोरियममा आयोजना गरेको थियो ।

विश्वमा प्रजातन्त्रको जननीका रूपमा स्थापित वैशाली जिल्ला को स्वर्ण जयन्ती वर्षको समापन समारोहको अवसरमा गत शनिबार युद्ध, शान्ति र मानवअधिकार विषयमा छलफल तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो ।

समारोहको उद्घाटन अन्तर्राष्ट्रिय लोक संस्कृति मौरिससकी संयोजक डा. सरिता बुधु, बिहार हिन्दी साहित्य सम्मेलन, पटनाका अध्यक्ष डा. अनिल सुलभ, दूरदर्शन केन्द्र, पटनाका कार्यक्रम प्रमुख डा. राजकुमार नाहर, मानव अधिकार संयोजक डा. शशी भूषण कुमार, प्रख्यात साहित्यकार डा. उषा वर्मा, सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र हेलो ढाका न्यूजका मोहम्मद अब्दुर रहमानले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. सरिता बुधुले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताउनुभयो । यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको सट्टा युद्धको चर्चालाई अस्वीकार गर्दै शान्तिको विकल्पका रूपमा विश्वमा मानवअधिकारको प्रत्याभूति असम्भव रहेको बताए । उनले बुद्ध र महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताउँदै सार्क पत्रकार मञ्च यही एजेण्डामा अडिग रहेको बताए ।

कार्यक्रमका अध्यक्ष डा. अनिल सुलभले द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन हुने गरेको बताए । अहिलेको अवस्था विश्वका लागि राम्रो होइन । यसै गरी स्वागत गर्दै सार्क पत्रकार मञ्च बिहारका अध्यक्ष डा शशिभूषण कुमारले लोकतान्त्रिक सशक्तिकरणका लागि मानवअधिकारको संरक्षण नितान्त आवश्यक रहेको बताए ।

त्यस्तै डा. राजकुमार नाहरले लोकतन्त्र नै उत्तम शासन पद्धति भएको बताए । मानवअधिकारको संरक्षण शान्तिका लागि आवश्यक शर्त हो । पद्मश्री डा. जितेन्द्र कुमारले आज विश्वमा युद्धको माहोल छ, जुन मानवताका लागि राम्रो होइन । पद्मश्री राजकुमारी देवी उर्फ किसान चाचीले आज विश्वलाई बुद्ध, महावीर र गान्धीको विचारको आवश्यकता रहेको बताइन् ।

यसै गरी पद्मश्री डा शान्ति राईले आफ्नो सम्बोधनमा युद्धले धेरै समस्या निम्त्याउने र यो कुनै पनि समस्याको समाधान नभएको बताउनुभयो । वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विचार फैलाएको मो. अब्दुर रहमानले बताए ।

इलाइट इन्स्टिच्युटका संस्थापक अमरनाथ झाले मानवअधिकार र लोकतन्त्र एकअर्काका परिपूरक रहेको बताए । कार्यक्रममा उपस्थित मानवअधिकारकर्मी अमितकुमार ‘विश्वास’ले युद्धको विचार लोकतन्त्र र मानवअधिकारका लागि घातक हुने र युद्ध गर्नु भनेको अन्त्य गर्नु बराबर भएको बताए । उनले लोकतान्त्रिक पद्धतिबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

यसै गरी उक्त कार्यक्रममा वैशाली जिल्लाको स्थानीय लोक भाषाको लोकनृत्य बाट पनि मनोरञ्जन गराइएको थियो ।

साथै कार्यक्रमको मञ्च संचालन कौसर प्रवेजले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन डा. शिवबालक राई प्रभाकरले गर्नुभएको थियो ।