काठमाडौं, १० चैत्र । विश्वले नेपाललाई सगरमाथाको देश भनेर चिन्ने गर्दछन् । सगरमाथा चढ्न विश्वमै प्रख्यात शेर्पा समुदाय मानिन्छन् । अचेल उनीहरुको पदचिन्हलाई पछ्याउँदै हिमाल आरोहण गर्ने देशी तथा विदेशी पर्वतारोहीहरुको लाम लाग्दछ । यसैक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धका सदस्य चित्रबहादुर रायमाझी (शेखर) आगामी अप्रिलर मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा जुटेका छन् ।

विभिन्न समयमा पथप्रदर्शक, पर्वतारोही र पर्वतारोहणसम्बन्धी अनुभव बटुलिसकेका भोजपुरमा जन्मिएका रायमाझीले स्टोक खाङ्ग्री ६ हजार २ सय ७० मिटर, मेन्टोक खाङ्ग्र ६ हजार २ सय ५० मिटर, खाङ्यत्से ६ हजार २ सय ७० मिटर, मेरा पिक ६ हजार ४ सय ६१ मिटर, लबुचे पिक ६ हजार १ सय १९ मिटर जस्ता हिम चुचुराहरुको सफल आरोहण गरिसकेका छन् ।

उनले सपनाका रुपमा सजाएको सगरमाथा आरोणहका लागि कम्तिमा ४५ देखि ६० हजार अमेरिकी डलर लाग्ने अनुमान छ । त्यो रकम भनेको आजको डलर भाउअनुसार ८० लाख हुन आउँछ । त्यो रकम सहयोगी दाताहरुबाट संकलन गर्ने बताइएको छ । उनी सदस्य रहेको सामुदायिक सेवा केन्द्र बौद्धले डेढ लाख रुपियाँ संकलन गरिसकेको छ भने जोरपाटी सामुदायिक सेवा केन्द्रले रु ५० हजार दिने घोषणा गरेको छ । उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रको बौद्ध तामाङ कल्याण गुठी भवनमा आयोजित कार्यक्रममा उनको सफल आरोहणका लागि शुभकामना प्रदान गरियो । बौद्ध सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर लामाकाअनुसार आरोही रायमाझीले उपत्यकाभित्रका २९ वटा सामुदायिक सेवा केन्द्रको नाम अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने छन् ।