दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०९ फागुन । सवारी दुर्घटनामा परी एक जना १३ वर्षिय बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ०८:३० बजेको समयमा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्ज तर्फ आउँदै गरेको नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले सोही ठाउँ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठ कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिंदा निज विश्वास श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागि घाइते भएको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी चौकी, विजयवस्ती पर्सा बाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते विश्वास श्रेष्ठलाई उपचारार्थ तराई अस्पताल वीरगञ्जमा ल्याई उपचार हुँदा हुँदै बिहान १०:१५ बजे मृत्यु भएको छ ।

दुर्घटना पश्चात् फरार रहेको चितवन जिल्लाको माडी ०३ बस्ने वर्ष २५ को पदम बिलास पन्त (चालक) तथा बाग्मती प्रदेश-०१-०२७ च ०३०३ नम्बरको सेतो स्कार्पियो गाडीलाई प्रहरी चौकी, सिर्सिया बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई मृतक लासको जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र ट्राफिक स्केच लगायतका कार्यहरू सम्पन्न गरी थप अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।