दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ फागुन । सूर्यविनायक बाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको सूर्य विनायक नगरपालिका मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडा काँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई । यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डी. आर. उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका धेरै छायांकन देखिएको तर यस्तो चाहिँ पहिलोपल्ट देख्दै छौँ,’ स्थानीय पर्यटन व्यवसायी रामजी अवालले भन्नुभयो । यो गीतको भिडियोको कौतुहलताको कारण थियो हरेक दुई-तीन सेकेन्डमा ड्रेस परिवर्तन । पूरा गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरिएको निर्देशक माइकल चन्दले बताउनुभयो । ‘धेरै गीतको भिडियो छायांकन गरियो तर यो पृथक् शैलीको गीतको भिडियो छायांकन गर्दै छौँ, यसको विशेष महत्व आफ्नो ठाउँमा छँदैछ तर चुनौती पनि त्यत्तिकै रहेको छ,’ छायांकर उत्सव दाहालले भन्नुभयो । डा. उपाध्यायले छिन-छिनमा लुगा परिवर्तन गरेको दृश्य अनौठो र फरक शैलीको रहेको थियो । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीतमा १५० ड्रेस परिवर्तन भएको विश्वमा छैन, हामीले त्योभन्दा बढी गरेका छौँ,’ डा। उपाध्यायले भन्नुभयो । छायांकनमा सुनिता खनाल, मेकअप आर्टिस्ट अनिता ग्वाच्छा, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो भने भिडियोमा डा. उपाध्यायसँग कलाकार प्रतिमा विष्ट रहनुभएको थियो । गीतकार उपाध्यायको यो गीत ‘जिन्दगीका अनेक रूपरंग समेट्दै…’ मा स्वर तथा संगीत सागर अधिकारीको रहेको छ । गीतको भिडियो केही समयपछि डि. आर. म्युजिक क्रियसन मार्फत् सार्वजनिक गरिने सुबाश प्रधान ले शनिबार कालो झोला लाई मेल मार्फत जानकारी गराएका छन् ।