बिहीबार रातिसम्म अनिश्चित बनेको अक्सन शुक्रबार गर्ने नै एनएसएलले इमेलमार्फत जनाएको छ।
विहान ५:५८ मा इमेल पठाउँदै अक्सन तोकिएकै मितिमा गर्न लागिएको एनएसएलले जनाएको छ।
एनएसएल अक्सनका लागि यसअघि तीन श्रेणीका २४२ खेलाडीको नाम सार्वजनिक गरिएको थियो। यी खेलाडीलाई एनएसएलका १० टिमले अक्सनमार्फत आफ्नो टिममा भित्र्याउनेछन्। १० टिमले आफ्नो टिमका मार्की खेलाडी भने यसअघि नै घोषणा गरिसकेका छन्।
तर यो प्रक्रियामा सहिद स्मारक ए डिभिजन लिग खेल्ने आठ क्लब असन्तुष्ट छन्। यो सिजनको ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसहित, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी, सातदोबाटो, संकटा, जावलाखेल र फ्रेन्ड्सले पाँच दिनअघि आफ्ना खेलाडीलाई अन्य टिमलाई नभित्र्याउन आग्रह गरेका थिए।
खेलाडीसँगको सम्झौता आगामी चैतसम्म रहेकाले त्यसअघि कुनै टिममा आबद्ध गर्दा आफ्नो स्विकृति लिनु पर्ने क्लबले विज्ञप्तिमार्फत बताएका थिए। ए डिभिजन क्लबहरूले चैतसम्ममा मोफलसका विभिन्न प्रतियोगिता खेल्ने कार्यक्रम छ।







