सोमबार सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका कुल कोभिड–१९ बिरामीमध्ये ६५ प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका छन् । अस्पतालमा रहेका अधिकांश वृद्ध कोभिड-१९ बिरामीहरूको अन्तर्निहित स्वास्थ्य अवस्था जस्तै उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला समस्या, मुटुसम्बन्धी रोग र क्यान्सर छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कोभिड–१९ फोकल पर्सन डा निरज बमले पोष्टलाई भने, “कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा र कमोरबिडिटी भएका व्यक्तिहरू रहेका छन् । “मानिसहरूले अझै पनि कोभिड-१९ बिरामीहरूलाई अस्पताल भर्ना गर्न ढिलाइ गरिरहेका छन्। बिरामीको अवस्था बिग्रिएपछि मात्रै उनीहरु अस्पतालमा उपचार खोज्छन् । यस्ता बिरामीको उपचारमा ढिलाइ भए ज्यान जोगाउन गाह्रो हुन्छ ।” पछिल्ला दिनमा नयाँ संक्रमितको संख्यामा कमी आएपनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट सोमबार १३ जनाको मृत्यु भएको छ । आइतवार ११, शनिबार ९, शुक्रबार १६, बिहीबार १४, बुधबार १२ र मंगलबार नौ थियो ।







