नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ ।
अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाइरहेका बेला चीनले ‘धम्कीपूर्ण कूटनीति’ भन्दै सार्वजनिक प्रतिक्रिया जनाएको थियो । अर्कातिर २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।







