वार्षिक बाढी र नदीको अनियन्त्रित दोहनका कारण जिल्लाका नदी, खोलाबाट जलचर लोप हुन थालेको छ भने जैविक विविधतामा पनि ह्रास आएको छ । प्राकृतिक तथा मानवीय कारणले जलस्रोत ह्रास र प्रदूषित भइरहेकाले जलचरको अस्तित्व संकटमा परेको पाइएको छ । म्याग्दी नदीबाट असला, चेपागण्डा, भुरा, गंगाटो आदि माछा लोप हुँदै गएका छन् । नदीजन्य दोहन, फोहोर फाल्ने र बाढीका कारण कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीको जलचर नष्ट भएको वातावरणविद्हरू बताउँछन् । पाँच वर्षयता बाढी र पहिरोका कारण यी नदीमा जलचर लोप हुँदै गएको उनले बताए । शालिग्राम तथा जलचरको बासस्थान मानिने कालीगण्डकी नदीको नारचाङ क्षेत्रदेखि जिल्ला सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचरको अस्तित्व भेटिएको छ ।







