नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

नेपाल दोस्रो पटक विश्वकप खेल्ने सपनालाई वास्तविकतामा परिणत गर्नबाट मात्र एक जीतले पछि थियो । तर त्यो जीत यति टाढा भइदियो की नेपालले भेट्टाउनै सकेन । महत्वपूर्ण खेलमा युएइसाग ६८ रनले पराजित भएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सुनौलो अवसर गुम्यो । छनोट खेलमा उत्कृष्ट देखिएको नेपालको बलिङ युएई सामु चल्नै सकेन । ब्याटिङमा पनि कमजोर प्रदर्शन गरेपछि नेपाल, युएइलाई अस्ट्रेलियामा हुने विश्वकपका लागि शुभकामना दिादै घर फर्कियो । 

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।