दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २८ कार्तिक । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा शुक्रबार बिहान निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
वीरगञ्जको घडिअर्वा पोखरीमा आयोजित यस कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

बिहान ६:०० देखि ८:०० बजेसम्म सञ्चालन भएको शिविरमा कुल १ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १ सय २४ जना पुरुष तथा १७ जना महिला सहभागी भएका थिए । स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण उपस्थितिले समुदायमा मधुमेहप्रति रहेको चासो र जनजागरणको आवश्यकता स्पष्ट रुपमा देखिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले मधुमेह विश्वभर तीव्र रूपमा बढ्दै गएको जनस्वास्थ्य चुनौती भएको भन्दै, यसको रोकथाम, पहिचान र नियमित निगरानीका लागि निरन्तर जनचेतना आवश्यक रहेको उल्लेख गरे । साथै, समुदायमुखी स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजले पुर्याउँदै आएको निरन्तर योगदानको प्रशंसा पनि गरेका थिए ।

उक्त अवसरमा नेशनल मेडिकल कलेजका तर्फबाट डा. अनिल साह कन्सल्टेन्ट, इञ्जिनियर प्रदीप चौधरी मुख्य सूचना अधिकारी, जितेश चन्द्र दास मार्केटिङ प्रबन्धक, ब्रज किशोर चौधरी ओपरेशन्स तथा क्वालिटी प्रबन्धक, बिश्वनाथ कन्थ वरिष्ठ प्रशासन अधिकृत तथा डा. प्रसान्त भण्डारी प्रेसिडेन्ट–स्टुडेन्ट क्लब उपस्थित रहेका थिए ।
त्यस्तै, Rotaract Club of United Birgunj तर्फबाट रोजनी भट्टराई अध्यक्ष, शुजल ठाकुर सचिव तथा सन्दीप राज ओझा कार्यक्रम संयोजक सक्रिय रूपमा सहभागी थिए। स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्यायो ।










