बीरगंज, २६ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा आज वीरगञ्ज आएका हुन् । आज र भोली वीरगञ्जको नगर सभागृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापति समेत रहेका देउवा आज वीरगञ्ज आएका हुन् । नगर सभागृहमा हुने महाधिवेशनअघि देउवाको वीरगञ्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम रहेको थियो । तथा आजै बीरगंजको नगर सभागृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको सहयोगले आफू प्रधानमन्त्री भएको बताउँदै गठबन्धनका साथिहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । त्यसैले आउँदो स्थानीय तहदेखि माथिल्लो तहसम्मको चुनावमा हामीहरु बीच छलफल हुन्छ । सँगै मिलेर चुनाव लड्न सकिन्छ । त्यस्तै एमसीसीको सन्दर्भमा बोल्दै देउवाले एमसीसी कुनै ऋण नभएर अनुदान भएको बताए । नेपाली काङ्ग्रेसकै अग्रसरतामा पारित भएको एमसीसीले देशमा विकास र रोजगारको सृजना गर्ने देउवाको भनाई छ । उनले भने, ‘एमसीसी पास भएको छ । यसले हाम्रो देशको आर्थीक विकासमा सघाउ पुग्ने छ । राष्ट्रिय आवश्यक्तालाई मध्यनजर गरेरै एमसिसी पारित भएको हो । देशको जटिल परिस्थितीलाई पार लगाउन प्रधानमन्त्री हुने चाहना नभएर पनि प्रजातन्त्रको मूल्य मान्यतालाई बचाइ राख्न प्रधानमन्त्री भएको देउवाको भनाई थियो । सहमति र सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै देउवाले गठबन्धनका साथीहरुलाई बिना काम जिस्क्याउने काम नगर्न पनि सुझाव दिएका छन् । जहाँ जहाँ सकिन्छ, सहकार्य गर्दै गठबन्धन गरेर अगाडी बढौँ, गठबन्धनका साथीहरुलाई सशंकित पार्ने काम नगरौँ । नेपाली काङ्ग्रेस पर्साका निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले मधेशमा फोरमको आतङ्क र पहाडमा कम्युनिष्टको बर्चस्वका बाब्जुद पनि काङ्ग्रेसका कदमहरु नरोकिएको बताए । आगामी निर्वाचनमा स्थानीयदेखि संघियसम्म काङ्ग्रेस नै बिजयी हुने दावी गर्दै रिजालले निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।