पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिए। उनले भने, “भव्य र सभ्यरुपमा महाशिवरात्रि मनाउन सबै लागि परौँ, भक्तजनलाई कुनै पनि कुराको कमी नहोस्।”

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउ बनाउनसमेत उनले निर्देशन दिए। शिवरात्रि पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खट्न सफल उनले आग्रह गरे।

पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए।

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रका पर्खालहरुमा भगवान्का चित्र निर्माणको कार्य तत्काल सक्न आग्रह गरे।

यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १७ गते मङ्गलबार परेको छ। यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ।

पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ।