मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ ।

यसअघि माघ २५ गते महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ जनाको मूल समारोह समिति गठन गरेको थियो । जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको थियो ।

पशुपतिनाथ दर्शनका लागि भारतलबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करीब १० हजार सुरक्षा व्‍यवस्था  परिचालन गरिने भएको छ । शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचलान गरिनेछ।

यसबाहेक सबै सुरक्षा अंगहरुसँग पनि छलफलका लागि फागनु ११ गते बुधबार बैठक बोलाइएको छ ।

कोरोनाको तेस्रो लहर सकिएसँगै पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी पनि कोषले गरेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ

शिवरात्रिमा आउने साधुसन्तलाई २८ लाख दक्षिणा खर्च हुने

यस्तै महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरेको छ ।

शिवरात्रिको तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

यस वर्ष ९५१, ७५१, ५५१, ३५१, २५१ र १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ ।

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ ।

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन १५ गते फागुनकृष्ण एकादशीदेखि फागुन १९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ ।

यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव डा. मिलन कुमार थापा जानकारी दिए ।