५ फागुन, वीरगञ्ज। बाराबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो।
बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
लागूऔषध कोडीवेल एक सय एमएलको ११ पिस, ८ पत्ता नित्राजेपाम, नुफिन, फेनारगन र डाइजेपाम सुई पाँच/पाँच थान बरामद भएको उनले बताए ।
उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







