‘वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक’

काठमाडौँ, ११ असारः अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी लचिलो नीति लिइनुपर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति अवलम्बन गरिनुपर्नेलगायतका सुझाव विज्ञ एवम् सरोकारवाला क्षेत्रबाट आएका हुन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा कुनै समस्या नरहेको बताउनुभयो । ग्राहक संरक्षणका लागि नियामकीय र सुपरीवेक्षण भूमिका बढाउने उहाँको भनाइ छ । त्यस्तै, समस्यामा परेका व्यक्ति आफ्नो स्वार्थपूर्तिका लागि आफूअनुकूल मौद्रिक नीति आओस् भन्ने चाहिरहेको गभर्नर अधिकारीले बताउनुभयो ।

“बजारका अपेक्षा सुन्दा कसैका व्यक्तिगत र निजी समस्यालाई सबैको समस्यामा भनेर उठाएको जस्तो देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ”, गभर्नर अधिकारीले भन्नुभयो, “राष्ट्र बैंकका पनि आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाई पनि ऋणमा डुबाउने होइन । धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।”

अर्थसचिव मधुकुमार मरासिनीले नीतिगत स्थिरता हुनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताउनुभयो । सरकारको नीति चाँडो–चाँडो परिवर्तन हुने अवस्थालाई आगामी आर्थिक वर्षको बजेटले रोख्न खोजेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वित्तीय नीतिलाई समर्थन र सहयोग गर्नेगरी मौद्रिक नीति आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फको बजेट घटाइएको, पुँजीगततर्फको बढाइएको र क्रमागत आयोजनालाई बजेट विनियोजनमा प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । “आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माणमा सिर्जित दायित्व र बहुवर्षीय आयोजनामा केन्द्रित गरेका छौँ । कार्यान्वयनयोग्य बजेट आएकाले छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “तथ्यमा आधारित भएर बजेटका लक्ष्य निर्धारण भएका छन् । करका दर सकेसम्म कम चलाउने प्रयास गरेका छौँ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्वनाथ पौडेलले पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा समस्या बढ्दै गएको बताउनुभयो । “सार्वजनिक वित्त २०७४ सालयता निरन्तर बिग्रिँदो अवस्थामा गइरहेको छ । त्यसयता सार्वजनिक ऋण अत्यधिक बढेको छ । तर त्यसको प्रतिफल देखिँदैन”, उहाँले भन्नुभयो ।

सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेकाले सरकारको स्रोतमा पनि चाप परेको उहाँको भनाइ छ । मुलुकको आर्थिक गतिविधि बढाउन नयाँ क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । ऊर्जा र सडक आयोजना निजी क्षेत्रलाई निर्माण गर्न दिनुपर्ने र केही महत्वपूर्ण सडक पूर्वाधार आयोजना तत्काल सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ । काठमाडौँ–तराई द्रुतमार्गले ढुवानी लागत घटाउने र मुद्रास्फीतिसमेत नियन्त्रण गर्न सघाउने भएकाले भएकाले यो आयोजना चाँडो निर्माण सम्पन्न गर्नुपर्ने पौडेलले बताउनुभयो । पछिल्लो समय मुलुकको अर्थतन्त्र व्यवस्थापनमा वित्तीयभन्दा मौद्रिक भूमिका बढेको जस्तो देखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

पुँजीबजार केही मान्छेको हातमा पुग्दा त्यसले समस्या निम्ताउनेतर्फ सहज हुनुपर्ने उहाँको भनाइ थियो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा धेरै चलाउने ठाउँ नरहेको उल्लेख गर्नुहुँदै पौडेलले प्राथमिकताप्राप्त क्षेत्रको कर्जा विस्तारमा टेवा पुग्ने गरी लचक नीतिको अपेक्षा गरिएको बताउनुभयो । “नीतिगत दरलगायतका मौद्रिक औजार धेरै चलाउने अवस्था छैन । अब साना तथा मझौला र कृषि क्षेत्रमा कर्जा विस्तार गर्नु अपरिहार्य भइसकेको छ । लघुवित्त संस्थाको नियमन र सुपरीवेक्षण बढाइनुपर्छ”, डा पौडेलले भन्नुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंकहरुको वितरणयोग्य नाफा निकै घटेको बताउनुभयो । पछिल्लो तीन वर्षयता बैंकहरुको लगानीको प्रतिफल (आरओई) घटिरहेकाले यसबारेमा सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण हुन थालेको र कर्जा असूली गर्न अप्ठ्यारो भइरहेको उहाँको भनाइ छ । निर्माण क्षेत्रका ऋणीहरुको खराब कर्जा बढिरहेकाले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने केसीले बताउनुभयो ।

“बैंकहरुको कमजोरीका कारण खराब कर्जा बढेको होइन । समग्र अर्थतन्त्रमा आएको शिथिलताले बढेको हो । अहिले बैंकहरुको खराब कर्जा तीन दशमलव ९९ प्रतिशत हाराहारी छ । जुन दक्षिण एसियाली मुलुकहरुमा श्रीलङ्का र पाकिस्तानको तुलनामा निकै कम हो”, बैंकर्स सङ्घका अध्यक्ष केसीले भन्नुभयो, “बैंकहरू ग्रीन बण्ड ल्याउनतर्फ लागिरहेकाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन र सहजीकरणको नीति लिनुपछए ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रप्रति हेर्ने सरकारको धारणामा सुधार हुन नसकेको बताउनुभयो । “निजी क्षेत्रले कर्जा दुरुपयोग गरेका छन् र उनीहरु खराब हुन भन्ने धारणा बनाइएकाले निजी क्षेत्रको पनि आत्माविश्वास बढ्न सकेको छैन । यो भाष्य परिवर्तन गर्न आवश्यक छ”, अग्रवालले भन्नुभयो । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा मार्गदर्शनका कारण पनि कर्जा विस्तारमा केही सकस भएको उहाँको भनाइ छ ।

अर्थशास्त्री डा समीर खतिवडाले खुकुलो व्यवस्थासहित वास्तविक क्षेत्रको विकास हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैंक ऐनमा केन्द्रीय बैंकको जिम्मेवारीमा बाह्य क्षेत्र सन्तुलन, मूल्य स्थायित्वलगायतका विषय राखिएको भए पनि आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेजस्ता विषयमा मौन रहेको बताउनुभयो ।

त्रिचन्द्र बहुमुखी क्याम्यसका सहप्राध्यापक सावित्रीदेवी आचार्य अधिकारीले सरकारी खर्च र लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । “सरकारको पुँजीगत खर्च बढ्न सकेमात्रै अन्य क्षेत्रबाट पनि लगानी बढ्छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको र ब्याजदर घटेको बेलामा कर्जा विस्तार हुन सकेको छैन । यो विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

बैंकिङ क्षेत्रका विज्ञ भुवन दाहालले मुलुकको समग्र अर्थतन्त्र शिथिल भएको अवस्थामा बजार माग घटेको र निजी क्षेत्रको मनोबल खस्किएकाले कर्जा प्रवाह बढ्न नसकेको बताउनुभयो । “अहिले विदेशी मुद्राको सञ्चिति सुविधाजनक अवस्थामा छ । बैंक वित्तीय संस्थामा तरलता पर्याप्त छ । डिजिटल बैंकिङलगायतका पूर्वाधार पनि निकै राम्रो अवस्थामा छ”, उहाँले भन्नुभयो, “तर निजी क्षेत्रको मनोबल खस्किँदा कर्जा प्रवाह बढ्न सकेको छैन ।” निजी क्षेत्रमाथि राज्यले धरपकड गर्ने नभई प्रोत्साहनको नीति लिइनुपर्ने दाहालले बताउनुभयो ।

सरकारले भुक्तानी गर्नुपर्ने निर्माण व्यवसायीको रकम, कोभिड बीमाको दाबी भुक्तानी, विभिन्न अनुदान रकम भुक्तान हुनसके बजारमा रकम प्रवाह बढ्ने र त्यसले माग सिर्जना गर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल क्रेडिट रेटिङ एजेन्सीकी बिजनेस हेड वर्षा श्रेष्ठले बैंकहरुको कर्जा–निक्षेप अनुपात घट्नुपर्ने बताउनुभयो ।

  • Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 72 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 49 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 64 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन