शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौँ, ५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो ।

योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताउनुभयो । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उहाँको भनाइ छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने गर्दछ ।

समितिका कार्यकारी निर्देशक लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने सम्भावना रहेको जानकारी दिनुभयो । “यसअघि खासै ठूलो वर्षा भएको थिएन । वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, रासससँग उहाँले भन्नुभयो, “सिन्धुपाञ्चोकतिर मनसुनी वर्षा सुरु भएर मेलम्ची नदीमा पानीको बहाव बढेको छ । शुक्रबार आयोजना अवलोकनका लागि त्यसतर्फ जाँदैछौँ । आयोजनालाई जोगाउन शुक्रबारदेखि नै बन्द गर्ने सम्भावना बढी छ ।”

बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ । “परामर्शदाता र एसियाली विकास बैङ्कले (एडिबी)ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्न सक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्नुपर्ने सुझाव दिएका छन् । आयोजना बन्द गर्दा बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । उहाँहरुले आयोजना बन्द गर्न ढिलाइ भएको प्रतिक्रिया दिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपत्यकामा खानेपानीको अभाव देखेर जटिल अवस्था नआउञ्जेल आयोजना सञ्चालन गर्ने निर्णय गरेका थियौँ ।”

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेकाले निरन्तरता दिइएको उहाँको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो । समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गनुपर्ने हुन्छ । कार्यकारी निर्देशक लामिछाने वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो ।

गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ । यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा शुक्रबारसम्म आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताउनुभयो । उहाँले मुलुकको पश्चिम क्षेत्रमा भने मनसुन सक्रिय भइनसकेको जानकारी दिनुभयो ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी प्रकाशित बुलेटिन अनुसार आज, भोलि र पर्सिसम्म बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।

मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिनुभयो ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ । सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उहाँले भन्नुभयो, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ । मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ ।”

प्रवक्ता राईले काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको जनाउँदै आवश्यकता र मागअनुसार पानी आपूर्ति गर्न नसकिएको बताउनुभयो । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमीगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानीको अभाव बढिरहेको उहाँको भनाइ छ ।



काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव पनि बढिरहेको बताउनुभयो । उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहत समेत बढाएको उहाँको भनाइ छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ढुङ्गे धारामध्ये एक सय १७ लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० सुकिसकेका छन् । “कतिपय ढुङ्गेधारालाई जीवित बनाउन पानीको स्रोत खन्नुपर्ने हुन्छ । यसरी स्रोत खन्दा भएका स्रोत पनि सक्ने वा हराउने जोखिम रहन्छ”, प्रवक्ता राईले भन्नुभयो ।

भू–गर्भविद् डा सुबोध ढकालले उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारको विकासका क्रममा सहतमुनि पानीको रिचार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको बताउनुभयो । उहाँले भू–गर्भसम्बन्धी प्रभावकारी अध्ययन नभई मेलम्ची खानेपानी आयोजनाको डिजाइन तयार गरिएकाले यो समस्या आएको बताउनुभयो ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 50 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 38 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 40 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 39 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 41 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 39 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन