केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

पक्राउ पर्ने काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्षहरू हुन्। 

काठमाडौं-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र काठमाडौं-१६ बस्ने शिव पाण्डे पक्राउ परेका हुन्। उनीहरूलाई ब्युरोले गत बुधबार नै पक्राउ गरेको महतोले बताए।

सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ।

सहकारीबाट उठेको रकम सहकारी संस्थाको खातामा नराखी उनीहरूले आफूखुसी आफ्नै परिवार सदस्य तथा आफन्तहरूको नाममा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। 

निक्षेपकर्ताहरूले भुक्तानी फिर्ता माग्न जाँदा सहकारी संस्थामा ताला लगाएर उनीहरू फरार भएका थिए। 

ब्युरोमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट अन्य बचतकर्ताहरू पनि ठगिएको हुनसक्ने भन्दै ब्युरोको सम्पर्कमा आउन अनुरोध गरेको छ।