काठमाडौँ । नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पाएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएका थिए भने इशान पाण्डेले ५५ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २९ र कुशल भुर्तेलले २८ रन बनाएका थिए ।
त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकुलेनले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनाएका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।
यो जित पछि नेपालको लिग- २ मा २७ खेलमा २२ अंक भएको छ र नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै स्कटल्याण्डको भने ३१ खेलमा ३८ अंक रहेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।








