दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, २६ भाद्र । खानेपानीको अभाव पछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ । स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो । तर हैजा नियन्त्रण सँगै वीरगञ्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्यो—लुटपाट, चोरी, तोडफोड र आगजनी बाट भएको अपुरणीय क्षति ।
सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको युवापुस्ताको आन्दोलनमा केही आपराधिक समूह घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरे । नगरवासीको साझा सम्पत्तिहरू जलाइए, कार्यालयहरू तोडफोड भए, सडकमा रहेका संरचनाहरू खरानीमा परिणत भए । यस क्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको निजी घर समेत जलेर पूर्णरूपमा ध्वस्त भएको छ ।
तर, यस्तो कठोर र व्यक्तिगत पीडाको अवस्थामा पनि नगर प्रमुख सिंहले आफ्नो घर पुनर्निर्माणभन्दा बढी नगरलाई प्राथमिकता दिएका छन् । उनले भनेका छन्, “मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।” प्रमुख सिंहले सम्पूर्ण संयन्त्रलाई सफाइ र व्यवस्थापनमा निरन्तर लागिरहन निर्देशन दिएका छन् ।
महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम अझै विद्यमान छ । लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सरसफाइ गर्ने, दूषित खानेपानीको स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्र वरपर थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ ।

यस सँगै, आन्दोलनको क्रममा जलेर खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ । कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ ।
नगर प्रमुख सिंहले आफ्नो निजी घर जलेर खरानी भएको भए पनि सम्पूर्ण नगरको संरचना र सुन्दरतालाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई प्रेरित गरि रहनु भएको महानगरले जनाएको छ । उहाँको निर्देशन अनुसार – “मेरो घर भन्दा ठूलो घर भनेको यो नगर हो, यो नगरलाई निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो” भन्ने भावना सहित सफाइ अभियानलाई निरन्तरता दिइएको हो ।
यस्तो प्रतिकूल परिस्थिति, साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडा हुँदा हुँदै पनि वीरगञ्ज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढता पूर्वक अघि बढिरहेको छ ।









