काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
समीक्षाअनुसार चालु आर्थिक वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखिएकोमा पहिलो छ महिनामा औसत १.७० प्रतिशत मात्र कायम भएको छ ।
विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने लक्ष्य राखिएकोमा २०८२ पुस मसान्तसम्मको सञ्चिति १८.१ महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको बैंकले जनाएको छ । मुद्रास्फीति र विदेशी विनिमयको अवस्था सहज रहेकाले नीतिगत दर घटाएर ४.२५ प्रतिशत तथा बैंकदर ५.७५ प्रतिशत कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर यथावत् राखिएको छ ।

बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापनका लागि २०८२ पुसमा एक वर्षे अवधिको दुई खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएको छ। चालु वर्षमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएकोमा पहिलो छ महिनामा क्रमशः ५.४ र ३.८ प्रतिशत वृद्धि भएको छ।
वित्तीय स्थायित्व सुदृढ गर्न व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ तथा लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा १५ लाख रुपैयाँ पुर्याइएको छ। ट्रष्ट रिसिट आयात कर्जाको जोखिम भार घटाइएको र कर्जा वर्गीकरण व्यवस्था थप सहजीकरण गरिएको बैंकले जनाएको छ।
विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली संशोधन गरी सूचना प्रविधि उद्योगलाई २० हजार अमेरिकी डलर वा सो बराबर रकम विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ। साथै विदेशी ऋण भित्र्याउने तथा लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रिया पनि सहज बनाइएको छ।
नगद कारोबार नियन्त्रणका लागि पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा खातामार्फत वा खातावाला चेकबाट मात्रै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।








