जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।

कुनै समय वन जंगलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो ।

तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकहरूको पहलमा पर्वतको मोदी गाउँपालिका-३ देउरालीस्थित घुरूंगामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो ।

विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो । परम्परागत रूपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागतसमेत अत्याधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए ।

तत्कालीन समयमा झण्डै रू. २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएका केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि बिस्तारै वनमा जाने, अल्लो संकलन गर्ने, उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको अल्लो उद्यमी रनमाया पुनले बताइन् ।

उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चापदार्थ संकलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताइन् । यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गत वर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताए ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि रहेको थियो । परम्परागत रूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समयसमेत बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलीको उद्योगसमेत बन्द भएपछि अहिले गाउँमा दुई तीनजना महिलाले परम्परागत रूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् ।

अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम र समय लाग्दै उद्यमी पुनले बताए । जिल्ला लघु उद्यमी संघकी पूर्व अध्यक्ष सेती महतले गाउँबाट बसाइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक मेसिन सहितको उद्योग पनि बन्द भएको बताइन् । महतले लघु उद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताइन् ।

रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा यो गाउँबाट बसाइँसराइ दर तीव्र रूपमा बढेको छ । बाउन्न घरधुरी रहेको यो घुरूंगा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए ।

व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा बिक्रीबाट वार्षिक लाखौँ रूपैँया आम्दानी गर्न सकिने भएकाले गाउँपालिका उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताए । पर्वतका उत्तरी क्षेत्रका शालिजा, लेख फाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला अल्लो उद्यम गर्दै आएका छन् ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन