वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

दीपेन्द्र प्रजापति / कालो झोला ।

वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियोे । सोमबारको नगरसभामा उपमेयर आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात कूल बजेटको ७०.२४ प्रतिशत,पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात १.१२ प्रतिशत रहेको उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड,संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख , संघीय राजश्व बाँड फाँट बाट २३ करोड ७८ लाख,प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार,प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार ,घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन,सरसफाई,वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेकोपनि बताए । त्यसअघि नगरसभामा महहानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रबर्धन गर्ने केहि महत्वकांक्षी योजनाहरुपनि समावेश गरिएका छन् ।

मेयर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रबर्धनका साथै शिक्षा,स्वास्थ्य, सरसफाईलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले ‘अलौ पर्व संग्रहालय’ र ’रेल्वे म्युजियम’ निर्माण गरिने बताए । वीरगन्जको समकालीन इतिहासको सन्दर्भमा विशेष महत्व राख्ने ’अलौ पर्व’ (वीरगन्ज–१७ अलौमा १९०४ साल साउनमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणले तत्कालीन राजा राजेन्द्र विक्रम शाहलाई नियन्त्रणमा लिईएको घटना)को स्मृति संरक्षण, अध्ययन तथा भावी पुस्तामा ऐतिहासिक चेतना प्रवाह गर्न वीरगन्न्ज महानगरले ‘अलौ पर्व संग्रहालय’ निर्माण गरी त्यसमा अलौ पर्व सम्बन्धी ऐतिहासिक अभिलेख, सामग्री, चित्र, प्रतिकृति तथा दस्तावेजहरू राखिने मेयर सिंहले बताए ।

त्यस्तै वीरगन्ज नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेलवे सेवा स्थापना भएको १०० वर्ष पुरा भएको अवसरमा,पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनःप्रयोग गर्दै ’रेल्वे म्युजियम’निर्माणको कार्य अगाडि बढाइने बताए ।यस्तै वीरगन्जको घण्टाघर आसपास वर्षौंदेखि खाली रहेको सार्वजनिक जग्गामा सुव्यवस्थित, हरित र आधुनिक ’विपि उद्यान’निर्माण गरिने योजनापनि नीति तथा कार्यक्रममा समावेश छ ।

यसैगरि वीरगन्ज–२८ बगहीमा ’महानगर नमुना अस्पताल’ निर्माण गर्ने,वीरगन्ज–२३ मा ‘सहुलियत दरको ल्याब सेवा (प्रयोगशाला)’ सञ्चालनमा ल्याइने, वीरगन्ज–१६ इनर्वामा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिने, महानगर आँफैले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजनापनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरका सबै सामुदायिक विद्यालयमा ’एक विद्यालय, एक स्मार्ट कक्षा’कार्यक्रम लागू गरिने, आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागु गरिने, वीरगन्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने ,३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिने, कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसईई परीक्षाको तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने मेयर सिंहले बताए ।

स्थानीय भाषा भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिने पनि उनले बताए । वीरगन्जलाई सुन्दर, समुन्नत, समृद्ध र “वैभव वीरगन्ज“का रूपमा रूपान्तरण गर्ने आफ्नो संकल्प, वीरगन्जबासीको चाहना र आँफुले चुनावमा गरेका प्रतिबद्धताहरुलाई मूर्त रूप दिनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, प्रभावकारी शिक्षा तथा स्वास्थ्य प्रणालीको प्रवद्र्धन,धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवद्र्धन, सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध शहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगन्जको पहिचान निर्माणका योजनाहरु समावेश गरिएको मेयर सिंहले बताए ।

मेयर सिंहको अध्यक्षतामा भएको नगसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी,सञ्चारकर्मी लगायतकाको पनि सहभागिता थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन