कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्।

यस्ता दुःखद घटनाले समाजमा नराम्रो असर गर्छ। तर ठूल्ठूला धार्मिक भेलाहरूमा यस्ता घटना हुँदै आएका छन्।

केही महिनाअघि उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक भेलामा भागदौडमा परेर १२० जनाको मृत्यु भएको थियो। साउदी अरबको मक्कामा हुने मुस्लिमहरूको वार्षिक तीर्थयात्रा हजका क्रममा कैयौँ पटक भागदौड मच्चिएको छ। सन् २०१५ मा त्यहाँ २,३०० जनाको ज्यान गएको थियो।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड हुँदा कम्तीमा ३० जना मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार ६० जना घाइते भएका छन्।

मृतकमध्ये २५ जनाको सनाखत भइसकेको अधिकारीहरूले जानकारी दिए।

भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन्।

कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए। तर अपराह्ण २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षाव्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार ज्यानुअरी १३ मा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन्। कुम्भमेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ। त्यहाँ उर्लिएको जनसागर अन्तरिक्षबाट पनि देखिएको छ।

घटना भएको १२ घण्टा बितिसक्दासम्म राज्य वा केन्द्र सरकारले मृतकको सङ्ख्या र क्षतिबारे कुनै जानकारी दिएको थिएन।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा टिप्पणी गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा भागदौड मच्चिएको र केही मानिस गम्भीर घाइते भएको बताएका थिए। तर उनी वा उनको सरकार तथा अन्य अधिकारीहरू कसैले पनि घटनामा मानिसहरूको मृत्यु भए नभएको विषयमा कुनै जानकारी दिएका थिएनन्।

केन्द्र र राज्य सरकारका विरोधाभासपूर्ण प्रतिक्रियाको धेरैले आलोचना गरेका थिए। सरकारमा पारदर्शिता नभएको मानिसहरूले औँल्याएका थिए।

केही व्यक्तिले बिहानको भागदौडपछि आफ्ना आफन्तहरू भुइँमा लडेको र त्यसपछि सम्पर्कविहीन भएको बीबीसीलाई बताएका छन्।

बिहान प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको हुन सक्ने बताएका थिए। प्रत्यक्षदर्शीहरूले पनि बीबीसीलाई समान जानकारी दिएका थिए।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,” सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मोदीले लेखेका छन्।

उनले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिएका छन्।

रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले पनि मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

विपक्षी दलका नेताहरूले अव्यवस्थाका कारण उक्त दुर्घटना भएको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन्।

संसद्‌मा प्रमुख विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले “अव्यवस्था र सर्वसाधारण भक्तजनलाई नभई भीआईपीलाई बढी ध्यान दिने प्रशासनको व्यवहारका कारण यो दुःखद घटना” भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्।

उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार छ।

अरू विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति दुःख र शोक व्यक्त गरेका छन्।

“केही तीर्थयात्रीहरू गम्भीर घाइते भए, उनीहरूको अस्पतालमा उपचार हुँदै छ,” केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका थिए। उनले “परिस्थिति नियन्त्रणमा” आइसकेको पनि दाबी गरे।

तर मेला हुने स्थानमा अहिले पनि आठदेखि १० करोड श्रद्धालुहरू अझै रहेको भन्दै उनले मानिसहरूलाई सङ्गमतिर नजान बरु आफू भएको स्थाननजिकैखो नदीतटमा स्थान गर्न आग्रह गरे।

“यो विशेष दिनमा गङ्गामा जहाँ स्नान गरे पनि उही फल पाइन्छ,” उनले भने।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घाइतेहरूलाई लगिएको एउटा मुख्य अस्पतालमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन।

त्यहाँ बिहानैदेखि एम्बुलेन्सको आउजआउ भएको देखिन्छ।

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा ‘अमृतस्नान’ हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीद्वारा स्थापित छेकबार नाघेर सङ्गमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा उक्त घटना भएको जानकारी दिएका छन्।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएको र त्यहाँ भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई ‘सेक्टर२४’स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

घटनास्थलबाट बीबीसी संवाददाता समिरा हुसेनले दिएको जानकारीअनुसार नदीतटमा बिहानीपख “पूरै अस्तव्यस्त र कोलाहलको स्थिति” थियो भने भुइँमा लुगाफाटा, जुत्ता, कम्बल र झोलाहरू छरपस्ट थिए।

  • Bishnu Timalsina

    Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 21 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-