दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ भदौ । प्रहरी चौकी, ईनरवा ले आईतबार दिउँसो ०३:०० बजेको समयमा रु. ४ लाख ५० हजार सहित एक जना हुँडी कारोबारीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विषेश सूचनाको आधारमा त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थित सडक खण्डमा भारतको सिमावर्ती क्षेत्र रक्सौल बाट वीरगञ्जतर्फ ना. ५२ प २४२० नम्बरको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २७ को सुरज पटेलले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. ४ लाख ५० हजार फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल सहित निज सुरज पटेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराएका छन्  ।