सुमन सुबेदि
९ जेठ, काठमाडौं । शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

प्रमुख केशवराज जोशीले राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट अनेरास्ववियूले ‘प्राध्यापक माथिको ज्यादती बन्द गर, राजीनामा दिएर जिम्मेवारीबाट भाग्न पाइँदैन’ भन्ने नारासहित ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाएका छन् ।

अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष सन्तोष शेर्पा अहिले क्याम्पसमा शैक्षिक वातावरण बिग्रेको र विद्यार्थी प्रत्यक्ष प्रभावित भइरहेकाले आवाज उठाएको र क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण पनि नखुलाउने र विद्यार्थी प्रभावित हुने गरी राजीनामा दिन थालेपछि खबरदारी गरेको उनी बताउँछन् ।

‘क्याम्पस प्रमुख, फ्याकल्टी मेम्बरहरू सहित
अधिकांशले राजीनामा दिनुभएको छ । स्पष्ट कारण पनि दिइरहनुभएको छैन,’ उनी भन्छन्, ‘तर अनौपचारिक रूपमा भने स्ववियुको दबाबले हो भन्ने सुनिएको छ । त्यसैले प्राध्यापकहरू माथि कुनै पनि खालको दबाब, अभद्र व्यवहार हुनुहुँदैन र जिम्मेवार व्यक्तिले पनि भाग्नु मात्रै विकल्प होइन भनेर खबरदारी गरिएको हो ।’