नेपालगञ्ज, १४ चैत : संसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको आज स्थलगत अनुगमन गरेको छ । प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा आएको छ सदस्यीय संसदीय टोलीले कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो । समितिका सदस्य पूर्णबहादुर घर्तीले कारागार र बाल सुधारगृहको नीतिगत तथा भौतिक संरचनाको सुधारलगायतका विषयमा जानकारी लिएको बताउनुभयो । समितिका सदस्य घर्तीले भन्नुभयो, “जे जस्ता समस्या देखिएका छन्, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइनेछ । ” कारागार कार्यालयका प्रमुख अर्जुनजङ्ग शाहले संसदीय टोलीलाई कारागारको अवस्थाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । संसदीय टोलीमा समितिका सदस्य ध्रुव बहादुर प्रधान, शेरबहादुर कँुवर, चन्द्रबहादुर विक, रेखा चौधरीलगायत हुनुहुन्थ्यो । उक्त टोलीले बिहीबार बर्दियास्थित जिल्ला कारागार र शुक्रबार सुर्खेतमा रहेको कारागारको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।