जोखिममा वनहराका भूमिहीनको जीवन

कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् ।

सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी दर्किन थालेपछि झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ’, बोहराले भने, ‘पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिँदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो ।’

डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने थाहासम्म नभएको सुनाउँदै बोहोरा भन्छन्, ‘त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ ।’

सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिहीनले उपयुक्त स्थान फेला पारेका छैनन् । शुक्लाफाँटा नगरपालिकासँग अनुनुयविनय गरे पनि बेवास्ता गरिएको मानध्व लुहार बताउँछन् ।

मजदुरी गर्न नपाउँदा हातमुख जोर्न समस्या हुने मानबहादुर बोहराले बताए । ‘झुपडीमा मुसो छिरेपनि खाली पेट फर्कने अवस्था छ’, उनले भने, ‘एक दाना अन्न छैन, राहतका लागि नगरपालिकादेखि दातृ निकायसम्म गुहार्दै आएका छौँ, कतैबाट अहिलेसम्म सहयोगी हात अगाडि बढ्न सकेका छैनन् ।’

भोकभाकै बस्नुपर्ने अवस्था आउन लागेको उनले सुनाए । मजदुरी नपाइँदा खानकै समस्या भएपछि चार परिवार भारततर्फ पलायन भएका छन् । ‘मजदुरीका लागि भारतमा गएका छोराले पैसा नपठाउँदा समस्या छ’, बोहराले भने, ‘आफू पनि भारतमा मजदुरी गर्न जाऊँ भने पहिचान खुल्ने प्रमाण छैन, प्रमाण नहुँदा सीमा क्षेत्रका भारतीय सुरक्षाकर्मीले छिर्न दिँदैनन्, सीमाबाट फर्केर आउनुपर्ने बाध्यता छ ।’

झोपडीमा बालबालिका र बूढापाका मात्र बाँकी रहेको उनी बताउँछन् । दातृ निकायले उपलब्ध गराएका झोपडीको छानामा राखेका त्रिपाल पुराना हुँदा ठाउँठाउँबाट फाटेका छन् । थोरै वर्षा हुँदा पानी झोपडीभित्र छिर्ने गरेको छ । लामखुट्टे, विषालु सर्प, बिच्छीको के कुरा रु ।

झुलको व्यवस्थाका लागि दातासँग अनुरोध भएको तर केही हात नलागेको कलावती दमाईले बताइन्। कठाङ्ग्रिँदो चिसोमा आगो बालेर रात काटेको अघिल्लो हिउँको मन नै कटक्क खाने पीडा कलावतीले सुनाइन् ।

सामुदायिक वनबाट दाउरा सङ्कलन गर्न नपाउँदा नजिकैको मसानघाटमा शवदाहपछि फालिएका दाउरा ल्याएर बाल्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। ‘जोखिमयुक्त ठाउँमा निकै कष्ट सहेर बस्ने रहर कसैलाई पनि हुँदैन’, राधिका सुनारले भनिन्, ‘नेपाली नागरिक भए पनि सुरक्षित बस्नका लागि घर छैन, अन्न उत्पादनका लागि जग्गा छैन, स्वास्थ्योपचारको व्यवस्था छैन, रोजगारीको प्रबन्ध छैन, आधारभूत सेवा सुविधाबाट वञ्चित भएर बस्नुपर्ने अवस्था छ ।’

राष्ट्रिय भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका सचिव रामबहादुर चुनारा लामो समयदेखि झोपडीमै कष्टकर जीवन बिताउँदै आएका परिवारलाई सुरक्षित ठाउँमा पुनः स्थापन गर्ने जिम्मा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको भएको बताए ।

‘बासस्थानको खोजी गर्दै असुरक्षित ठाउँमा बस्नका लागि दुई दशकअघि आएका अधिकांश परिवारले शुक्लाफाँटा नगरपालिकामा बसाइँसराइ दर्ता गराएका छन्’, उनले भने, ‘नगरपालिकाका बासिन्दा भए पनि नगरपालिकाकातर्फबाट सुरक्षित ठाउँमा पुनः स्थापना गर्ने, रोजगारीको प्रबन्ध मिलाउनेदेखि राहत उपलब्ध गराउनेसम्मका कार्य गर्नुपर्ने हो ।’

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-