काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

उनले भने “नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”