दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा      आईतबार विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही हाल सम्म फरार रहेका बर्ष ७२ को प्रेम गिरीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको साविक गा.वि.स. महुवन वडा नं. ०४ हाल सखुवा प्रसौनी गा.पा. वडा नं. ०७, महुवन बलुवा बस्ने ७२ वर्षिय गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घर ठेगाना बाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

निज गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरू मा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए । उनी मिति २०६५ साल असोज २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको हुनाले कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

यसै गरी मिति : २०५७ साल भदौ १२ गते राती करिब १२:३० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गा.वि.स. वडा नं. ०४ बस्ने वर्ष ३० को देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी हत्या भएको खुन डाँका मुद्दा, मिति: २०६६ साल फागुन १९ गते जिल्ला प्रशासन कार्यालय, पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको, मिति: २०६० साल पुस २५ गते जिल्ला प्रशासन कार्यालय, पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको, मिति : २०६० साल असार ०३ गतेको  पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको तथा मिति : २०५६ जेठ ०४ गते जिल्ला प्रशासन कार्यालय, पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेको अभियोगमा समेत पक्राउ परेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।