दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ जेठ । बीरगंज महानगरपालिकाको आम संचार नियमन तथा प्रबर्द्धन समितिको वैठकले पत्रकारहरुको लागि महानगरले स्थापना गरेको आपतकालिन कोषको संचालन कार्य विधि तयार गरी लागु गर्ने निर्णय गरेको छ ।

आम संचार नियमन तथा प्रबद्र्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न वैठकले विगत लामो समय देखि बीरगंजमा आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुलाई विभिन्न घटना, दुर्घटना तथा उपचारमा सहयोग नपाई रहेको अवस्थामा महानगरले आपतकालिन कोष खडा गरी क्रियाशिल पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्य लिएको हुँदा सहयोगका लागि आवश्यक कोष संचालन कार्य विधि तयार गर्ने निर्णय गरेको हो ।

यस कार्य विधि तयारको जिम्मा समेत संयोजक ध्रुव अधिकारीलाई दिईएको छ । यसै गरी महानगरपालिकाले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनका लागि आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सुचिकृत हुन आगामी जेठ ६ गते प्रकाशन प्रसारण शाखालाई सुचिकृत गर्न सूचना प्रकाशित गर्नका लागि निर्देशन दिएको छ । वैठकमा समितिका बहुमत सदस्यहरुको सहभागिता रहेको थियो ।