काठमाडौँ, ३० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अन्तर्राष्ट्रियजगत्ले नेपालको राजनीतिक अस्थिरता ल्याउन बौद्धिकजगत्लाई प्रयोग गर्ने गरेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेला समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न अनेक तरिका अपनाउने गरेको र बढी दुरुपयोग बौद्धिकजगत् हुने गरेको छ भन्नुभयो । नेपालको हित मात्र नभई सिङ्गो एसियालाई पुरानो विरासतबाट फर्काउनमा नेपालको महत्वपूर्ण भूमिका हुने उहाँको धारणा छ । महासचिव पोखरेलले नेपालको राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती रहेको बताउनुहुँदै मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक परिस्थिति बदलिए पनि सामाजिक मनोविज्ञान बदल्न नसकेको स्वीकार गर्नुभयो । “जबसम्म समाजिक मनोविज्ञान बदल्न सक्दैनौँ । तबसम्म राष्ट्र निर्माणका लागि अनुकूल आधार निर्माण हुन सक्दैन । त्यस अर्थमा हामीले राज्यलाई कमजोर होइन बलियो बनाउनुपर्दछ । राज्यसँग जनतालाई जोड्नुपर्दछ,” उहाँले भन्नुभयो । विकास र समृद्धिका यात्रामा राज्य र जनतालाई जोड्ने राजनीतिक दलको कार्यभार रहेको उहाँले बताउनुभयो । —