दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २६ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आईतबार श्रोत नखुलेको लाखौं रुपैयाँ सहित एक जना हुँडी कारोबारीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विषेश सूचनाको आधारमा त्यहाँ बाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले दिउँसो करिब ०१:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०२, श्रीराम सिनेमा हल पछाडिको गोरेटो सडक खण्डमा प्रदेश २-३-०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेक जाँच गर्दा पर्साको पोखरिया नगरपालिका वडा नं. ०९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान आलमले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. ७ लाख ५३ हजार ३ सय फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल सहित महम्द रिजवान आलमलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसूरमा अनुसन्धान भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।