सिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आँकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।