सिन्धुपाल्चोक, २० फागुन । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि भएपनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताको आपतविपदमा सबै काम गर्नुपर्छ भन्नुहुँदै आफूले जनताका सबै समस्याहरुमा सहयोगी भएर काम गरिरहेको बताउनुभयो ।
विगतलाई स्मरण गर्दै उहाँले ‘६ महिना सञ्चार मन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ, अहिले स्वास्थ्य मन्त्री छु, ३९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदैछन्, अर्को वर्ष सबै निर्माण सम्पन्न हुनेछन्।’ भन्नुभयो ।
उहाँले चुनावको बेलामा राजनीति गर्ने हो भन्नुहुँदै सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले विगतमा जितेका जनप्रतिनिधिहरुको ध्यान २०७२ को भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्ने तीर नभएकोले अहिलेसम्म पुनःनिर्माण हुन नसकेको बताउनुभयो ।


‘निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माण गर्न ध्यान दिन्छौं भनेको थियौं, त्यही अनुसार १० लाख बजेट विनियोजन भइसकेको छ, २० लाख विनियोजन हुनेक्रममा छ। हामी प्रयास गर्छौं, तपाईंहरुले व्यक्तिगत दातासंग भन्नुभयो भनेपनि धेरै पैसा उठ्छ ।’ उहाँले भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ले भूकम्पले क्षति पुर्‍याएको तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनको बेला गरेको प्रतिवद्धता अनुसार शनिवार सिलान्यास भएको छ, बाचाअनुरुप काम गरिरहेका छौं भन्ने बताउनुभयो । उहाँले गुम्बा निर्माणका क्रममा पैसाको बारेमा तपाईंहरु चिन्ता नलिनुस् भन्दै राजनीतिक प्रतिस्पर्धा नगरी निर्माण सम्पन्न गर्न लाग्न आग्रह गर्नुभयो ।
गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइवाले सिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयो ।


नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरुका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइवा, समाजसेवी शंकर लामा लगायतले मन्तव्य राख्नुभयो ।
यसैक्रममा पाँचपोखरी प्राथमिक अस्पतालको अवलोकन गर्नुहुँदै मन्त्री बस्नेतले अस्पतालको व्यवस्थापनका लागि आवश्यक सबैखालका कामहरु गर्न आफू तयार रहेको बताउनुहुँदै समस्या समाधानका लागि प्रक्रिया पुर्याएर मन्त्रालयमा माग गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेतलाई प्राथमिक अस्पतालका प्रशासन प्रमुख सरोज धितालले अस्पतालको अवस्था बारेमा जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतले स्थानीय विद्यालयको अवलोकन गरी त्यहाँका समस्या समाधानका बारेमा समेत चासो राख्नुभयो।