काठमाडौं, २१ कार्तिक। यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कार्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै, २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा÷म्हः पूजा, २९ गते भाइटीका परेको छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।