काठमाडौँ । जनकविकेशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नुुलाइ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।
जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको संझनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो । उहाँ परिवारको सहमतिमा म्युजिक नेपालले यो गीतलाइ पुनः रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।
गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।
जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उहाँका छोरा मदनराज थापाले आजभन्दा ७० बर्ष अगाडि रेकर्ड गरिएको यो लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुनः परिचित गराउन र अग्रज स्रष्टा र उहाँहरूको सृजनाबारे के कस्तो धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताउनु भयो । ‘हरियो भन्नु’ गीत वि.सं. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।