काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ऋषिकेश गौली पक्राउ परेका छन्।

नेपल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरिएको उजुरीपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक चितवन रत्ननगर नगरपालिका–१२ स्थायी घर भएका तथा हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्दै आएका ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हाल यो मुद्दा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धानको दायरामा ल्याइएको छ।
यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।








