दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, २९ असोज । हालैको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ ।
यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले यो सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अघि सारेको बताएको छ ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए । सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधी उत्पादक संघले पुर्याएको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण छ । संघप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र संघबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु।

’त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि नगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो ।
’कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वाेत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री उपलब्ध गराएको थियो । औषधी उत्पादक संघले गरेको यो सहयोगले महानगरको सेवा पुनःसञ्चालनको प्रयासमा थप गति मिल्ने र उद्योग–महानगरबीचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास महानगरले लिएको छ ।








