दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नं. ०४, अमरपट्टी स्थित सीमा क्षेत्र बाट लाखौं मूल्य बराबरको कुखुराको चल्ला आफ्नो नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार आज बिहान यस कार्यालय बाट खटिएको मोबाइल टोलीले भारत बाट अवैध रूपमा ल्याउँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिइएको हो ।

उक्त टोलीले करिब रु. ७ लाख ४० हजार बराबरका ७४ कार्टुनमा रहेका ७ हजार ४ सय गोटा ब्रोइलर कुखुराका चल्ला सहित बिन्दबासिनी गाउँपालिका वडा नं. ०४, अमरपट्टी निवासी अन्दाजी वर्ष ४२ का उमेश मुखियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
यसै गरि पशु स्वास्थ्य तथा क्वारेन्टाइन सम्बन्धी प्रचलित व्यवस्था बमोजिम नेपाल प्रहरी, स्थानीय सञ्चारकर्मी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सामा उक्त चल्लाहरू नष्ट गरिएको छ ।








