दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०९ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा असार ०१ गते राति करिब ११:५६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्ड बाट लाखौं मूल्य बराबरको नेपाली बजारमा प्रतिवन्ध गरिएको Tramadol Hydrochloride Ip-50 Tramol लागु औषध सहित गाडी तथा चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले बा. प्र. ०३-००१ ख ३३४६ र ना. ६ ख ५५०१ नम्बरको मालवाहक ट्रकहरूमा राजश्व छली चोरी पैठारी गरी विल विजक भन्दा बढीको औषधि तथा खुद्रा लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्ज बाट काठमाण्डौ र मोरङ तर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उक्त मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिई, लोड रहेको मालबस्तुहरू विल विजक भन्दा बढी रहेको आसंकामा उक्त नम्बरको मालवाहक ट्रकहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो ।

उल्लेखित नम्बरको ट्रकहरू राजस्व अनुसन्धान कार्यालय पथलैयाले सोमबार चेक जाँच गर्दा सो ट्रकहरू मध्ये बा. प्र. ०३-००१ ख ३३४६ नम्बरको ट्रक बाट लागु औषध Tramadol Hydrochloride Ip-50 Tramol १२ हजार ६२ पत्तामा १० का दरले जम्मा १ लाख २० हजार ६ सय २० ट्याब्लेट अंदाजी मूल्य रू. ९ लाख ८४ हजार २ सय ५९ बराबरको रहेको छ ।
बरामद प्रतिबन्धित लागु औषध र बा. प्र. ०३-००१ ख ३३४६ नम्बरको ट्रक तथा चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २३ को सुशिल घले सहित यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भैरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।







