दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगन्ज, १६ असार । वीरगन्ज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठुलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र संचालित ‘दियास हस्पिटालिटी प्रा. लि.’ मा महानगरको अनुगमन टोलीले छापा मारेको हो ।

कार्यवाहक प्रमुख आलमको अग्रसरतामा नगर प्रहरी, महानगरको अनुगमन टोली र स्थानीय साक्षीहरूको रोहवरमा उक्त क्याफे/होटलको स्टोरमा खानतलासी गरिएको थियो । दिपिका क्षेत्री प्रोप्राइटर रहेको उक्त फर्मको स्टोरमा लुकाइराखेको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड र १७ प्याकेट विभिन्न फ्लेवरका हुक्का तथा सुर्तीजन्य पदार्थहरू फेला परेपछि टोलीले तिनलाई नियन्त्रणमा लिएको छ ।
पार्कभित्रै अवैध सुर्तीजन्य पदार्थ र हुक्का फेला परेपछि वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आक्रोश र गम्भीर चासो व्यक्त गर्नुभएको छ । पार्कजस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनु निन्दनीय भएको बताउँदै कार्यवाहक प्रमुख आलमले बालबालिकाहरूको स्वास्थ्य र उनीहरुकै मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र यस्ता अवैध र घातक पदार्थहरूको कारोबार हुनु सह्य नभएको उल्लेख गर्नु भयो ।

उहाँले बालबालिकाको भविष्य र स्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै व्यवसाय वा व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने दृढता समेत व्यक्त गर्नु भयो ।
महानगरपालिकाका अधिकृत तथा नगर प्रहरी टोलीले उक्त सामग्रीहरू जफत गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । अनुगमन टोलीका अनुसार उक्त व्यवसायको दर्ता र नवीकरणको स्थिति ठीक रहेको पाइए तापनि प्रतिबन्धित एवं सार्वजनिक पार्क क्षेत्रभित्र सुर्तीजन्य र हुक्काजन्य पदार्थ भण्डारण तथा बिक्री-वितरण गरेको पाइएकाले कानुनी घेरामा ल्याइएको हो ।
महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा सार्वजनिक क्षेत्र वरपर हुने यस्ता गैरकानुनी गतिविधि रोक्न बजार अनुगमनलाई थप तीव्र र निर्मम बनाउने प्रतिबद्धता जनाएको छ ।








