दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १४ असार । बीरगंज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका मांग राख्दै आज बिहानै देखि आन्दोलनमा उत्रेका छन् ।
आन्दोलनका क्रममा उनीहरूले बिरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् ।
यस घटनालाई गम्भीर रूपमा लिँदै बिरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले विशेष निगरानी गरिरहनु भएको छ ।
उहाँले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्ता लाई सरसफाइ कर्मीहरूको जायज मांग बारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनु भएको छ ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीलाई सास्ती नहोस् र शहरको नियमित सरसफाइ प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनु भएको छ ।
साथै महानगरले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







