दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २१ असार । पोखरिया नगरपालिका वडा नं. ०९ स्थित रहेको हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री रहनुभएको थियो ।
यसै गरी विशिष्ट अतिथिहरूमा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान लगायत विभिन्न राजनीतिक दलका नेता, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली काँग्रेसका महिला नेत्री आशा चौहान क्लबका सदस्य तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा हनुमान मन्दिरको जग्गा नामसारी गराउन विशेष पहल गर्नु भएका गोरख साह तेलीलाई उहाँको योगदानको कदर स्वरूप प्रमुख अतिथि जनार्दन सिंह क्षेत्री द्वारा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सो अवसरमा वक्ताहरूले निर्माणका लागी प्रदेश सरकार बाट विनियोजित बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज हुनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै विकास निर्माणका कार्यमा सबै पक्षबीच सहकार्य, आपसी समझदारी र एकता आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
साथै हनुमान मन्दिर परिसरलाई हरियाली, स्वच्छ र आकर्षक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइयो ।








